शनिबार, असोज १०, २०७७

स्वास्थ्य मन्त्रालयबाट काठमाडौं महानगरसम्म कोरोना संक्रमितकाे तथ्यांक पुग्न दुई दिन!

काठमाडाैं, भदौ १४ : उपत्यकामा कारोना भाइरस बढि रहेका बेला स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरुको तथ्यांक काठमाडौं महानगरपालिकामा पेश गर्न दुई दिन लगाउदा कन्ट्याक टे«सिङमा समस्या देखिएको छ। तर, स्वास्थ्य मन्त्रालयबाट कोरोना संक्रमितको तथ्यांक पाउन काठमाडौं महानगरलाई दुई दिन लाग्छ।

अहिले सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई ब्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको छ। काठमाडौं त संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि कन्ट्याक्ट ट्रेसिङको जिम्मा पनि स्थानीय सरकारलाई नै दिएको छ। तर, सयमै संक्रमितको विवरण नपाउँदा समस्या भएको स्थानीय सरकारको गुनासो छ।

अहिले काठमाडौं महानगरमै कुन वडामा कति कोरोना संक्रमित छन् भन्ने दैनिक तत्थ्यांक महानगरसँगै छैन। भदौ १२ र १३ गतेको विवरण भदौ १४ गते बिहानसम्म पनि नमिलेको महानगरले जनाएको छ।

अहिले भदौ ११ गतेसम्मको विवरण मात्रै रहेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए। ‘हामीसँग भदौ ११ गतेसम्मको मात्र कोरोना संक्रमितको तत्थ्यांक छ,’ प्रवक्ता डंगोलले काठमाडौं प्रेससँग भने ‘परीक्षण रिपोर्ट सार्वजनिक भएको दुई दिनपछि मात्रै स्वास्थ्य मन्त्रालयले तथ्यांक दिने गरेको छ।’

जसले गर्दा संक्रमित कुन वडामा कहाँ बसेको छ भन्ने पत्ता लगाउनै समय लाग्ने गरेको उनले बताए। त्यस्तै स्वास्थ्य मन्त्रालयको ढिलाइकै कारण कन्ट्याक्ट ट्रेसिङमा पनि ढिलाइ भइरहेको उनको भनाइ छ।

काठमाडौंका कुन वडामा कति संक्रमित?

महानगरको तत्थ्यांकअनुसार, भदौ ११ गतेसम्म काठमाडौं महानगरपालिकामा मात्र कुल दुई हजार दुई सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सक्रिय संक्रमितमध्ये पाँच सय ४८ जना होम आईसोलेसनमा बसेका छन भने पाँच सय ४१ जना अस्पतालमा उपचारत छन्।

त्यस्तै, कोरोनाबाट चार हजार चार सय ६० निको भएका छन्। अहिलेसम्म कोरोनाबाट महानगरमा १५ जनाको मृत्यु भएको छ।

काठमाडौमा कोरोना संक्रमितहरुमध्ये सबैभन्दा बढी वडा नं. ३२ (कोटेश्वर क्षेत्र)मा रहेका छन्। वडा नम्बर ३२ मा मात्रै भदौ ११ गतेसम्म एक सय ८७ जना कोरोना संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको छ।

यस्तै, वडा नम्बर ३ (महाराजगञ्ज क्षेत्र)मा कोरोना संक्रमितको संख्या एक सय ७४ रहेको छ भने एक जनाको मृत्यु भएको छ।

एक सयभन्दा बढी कोरोना संक्रमित रहेको वडा चार वटा रहेका छन। वडा नम्बर १३ (कालिमाटी क्षेत्र)मा एक सय दुई, वडा नम्बर १४ (कलंकी क्षेत्र)मा एक सय १३, वडा नम्बर १६ (बालाजु क्षेत्र)मा एक सय ४२ र वडा नम्बर २७ (इनबहाल क्षेत्र) मा एक सय ६ जना संक्रमित रहेका छन्।

सबै भन्दा कम वडा नम्बर १८ (नरदेवी क्षेत्र)मा र वडा नम्बर २० (भिमसेनस्थान क्षेत्र)मा पाँचपाँच जना संक्रमित छन्। त्यस्तै, वडा नम्बर १९ (कंकेश्वरी क्षेत्र)मा आठ जना, वडा नम्बर २१ (लगन क्षेत्र)मा १२ जना, वडा नम्बर २३ (उँबहाल क्षेत्र)मा १२ जना, वडा नम्बर २५ (नघल क्षेत्र)मा १३ जना, वडा नम्बर ८ (जयबागेश्वरी क्षेत्र)मा १९ जना र वडा नम्बर १७ (खुसिबुँ क्षेत्र)मा २० जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौं महानगरमा १५ जनाको मृत्यु

महानगरको तत्थ्यांकअनुसार, भदौमा मात्र काठमाडौंमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ। भदौ १ गते मात्रै तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ।

जसमध्ये एक असनकी बासिन्दा हुन्। उनको पाटन अस्पतालमा मृत्यु भएको थियो।

दोस्रो ९४ वर्षीय बृद्ध पनि असनकै हुन्। उनको राजधानी अस्पतालमा निधन भएपनि कोरोना पोजिटिभ भएको रिपोट भने भदौ २ गते मात्र आएको थियो।

यस्तै तेस्रोमा ९६ वर्षीय बृद्ध हुन्। साउन २६ गते कोरोना संक्रमण पुष्टि भएको उनको धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
काठमाडौंमा भदौ २ गते एक जना मृत्यु भएको थियो। ६६ वर्षीया बृद्धाको केएमसी अस्पतालमा भदौ २ गते मृत्यु भएपनि भदौ ३ गते मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै भदौ ४ गते ७५ वर्षीय बृद्धको एनएमसी अस्पतालमा मृत्यु भएको थियो। उनलाई भदौ १ गते कोरोना संक्रमण पुष्टि भएको छ।

भदौ ५ गते ७३ वर्षीय बृद्धको केएमसी अस्पतालमा मृत्यु भएको थियो। उनलाई पनि भदौ १ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो।

काठमाडौंमा कोरोनाका कारण भदौ ८ गते दुई जनाको मृत्यु भएको थियो। जसमध्ये ७१ वर्षीया बृद्धा र ७४ वर्षीय बृद्धा रहेका छन्। भदौ ९ गते मृत्यु हुने ६६ वर्षीय बृद्धालाई साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै भदौ १२ गते दुई जनाको मृत्यु भएको तत्थ्यांक छ। जसमध्ये ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष रहेका छन्।

यस अघि साउनमा पनि दुई जनाको कोरोनाबाट मृत्यु भएको छ । साउन २६ गते ७६ वर्षीय बृद्ध र साउन २७ गते ७८ वर्षीया बृद्धाको मृत्यु भएको छ।

त्यस्तै, असारमा ८५ वर्षीय र ६५ वर्षीय बृद्धाको पनि कोरोनाबाट मृत्यु भएको छ।

 

 

 Published Date: Sunday, 30th August 2020 6:03:00 am